सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका अभिषेक गिरीलाई प्रहरीले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। पटक–पटकको पत्राचारपछि पनि उनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनको घरमै सूचना टाँसेको छ । प्रहरीका अनुसार गत १९ कात्तिकमा बयानका लागि उपस्थित हुन भन्दै गिरीलाई हुलाकमार्फत पत्र पठाइएको थियो। तर पत्र बुझाउन खोज्दा उनी नभेटिएपछि शुक्रबार उनको घरको भित्तामै सूचना टाँसिएको हो ।
प्रहरीले पठाएको पत्रमा आफ्नो साथमा रहेका दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन भनिएको छ । तोकिएको समयसीमाभित्र पनि उनी उपस्थित नभएपछि प्रहरीले कानुनी प्रक्रियाअनुसार घरमै सूचना टाँस गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने सूचना पाएपछि गिरी भारत पुगेका छन्। गत असोजदेखि नै उनी भारतमा बसेको प्रहरीको दाबी छ ।
गिरीमाथि आपराधिक लाभ लिएको र संगठित अपराध गरेको आरोपसमेत छ। अहिले प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
गिरी यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्। मोरङ कारागारका कैदीबन्दीलाई वितरण गर्नुपर्ने १३ लाख रुपैयाँभन्दा बढी भत्ता गायब भएको प्रकरणमा गत १३ असारमा उनी पक्राउ परेका थिए। उच्च अदालत विराटनगरको आदेशपछि म्याद थप नभएर २३ असारमा रिहा भएका उनलाई सोही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पुनः पक्राउ गरेको थियो ।
त्यसपछि २१ साउनमा छुटेका गिरीलाई मोरङ प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो। उजुरीकर्तासँग मिलापत्र भएपछि उनी रिहा भएका थिए। त्यसयता उनी सार्वजनिक गतिविधिमा खासै देखिएका छैनन् ।
नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भएका गिरी पक्राउ पर्ने आशंकाका बीच पार्टीको १५औँ महाधिवेशनमा समेत सार्वजनिक रूपमा देखा परेनन् । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेर छुटेका गिरीमाथि मोरङ कारागारभित्रै असुली धन्दा सञ्चालन गरेको र निर्माण व्यवसायीको सम्पत्ति हडपेको आरोपसमेत लाग्दै आएको छ ।















