सुनको भाउ एकैदिन तोलामा ४ हजार ५ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

Image

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला चार हजार पाँच सय रुपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको थियो। यसअघि सोमबार पनि सुनको भाउ प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार दुई सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्दो क्रममा रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार नौ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।