लगातार सातौँ दिन घट्यो सेयर बजार, नेप्से ६ महिनायताकै तल्लो बिन्दुमा

Image

नेपाली सेयर बजार लगातार सातौँ कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २,६०८.०१ बिन्दुमा बन्द भएको छ, जुन गत पुस ९ यताकै सबैभन्दा न्यून स्तर हो।

गत पुस ९ गते नेप्से २,५८५ अंकमा रहेको थियो। त्यसयता पहिलोपटक बजार पुनः २,६०० अंकको आसपास झरेको हो। लगातारको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ।

गत साताका पाँचै कारोबार दिन बजार घटेको थियो। यो साताको सुरुवाती दुई कारोबार दिन पनि गिरावट जारी रहँदा नेप्से सात दिनदेखि निरन्तर ओरालो लागेको हो। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १६.५४ अंकले घटेको थियो।

सूचक घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

सबै उपसमूहका सूचक राताम्मे बने। बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.०१ प्रतिशत, फाइनान्स १.०० प्रतिशत, होटल तथा पर्यटन ०.९३ प्रतिशत, जलविद्युत् १.४३ प्रतिशत, लगानी ०.७४ प्रतिशत, जीवन बीमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.६१ प्रतिशत, अन्य १.३१ प्रतिशत तथा व्यापार समूह १.७४ प्रतिशतले घटेका छन्।

यद्यपि केही कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। हालै सूचीकृत स्नो रिभर्स हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत र सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यता, टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घटेको छ भने याम्बलिङ हाइड्रोपावरको मूल्य ८.२३ प्रतिशतले ओरालो लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनसम्म १५ प्रतिशतले बढेको थियो। सूचीकृत भएपछि पहिलोपटक दुवै कम्पनीको मूल्य घटेको हो।

त्यस्तै सोपान फर्मास्युटिकल्सको ५.९० प्रतिशत, श्रीनगर एग्रिटेकको ५.४९ प्रतिशत र पियोर इनर्जीको ५.४८ प्रतिशतले सेयर मूल्य घटेको छ।

मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट तथा याम्बलिङ हाइड्रोपावर रहेका छन्।