दैलेखमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो, एक जनाको अचेत अवस्थामा उद्धार

Image

दैलेखमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक मिनीबस (फोर्स गाडी) कर्णाली नदीमा खसेको छ।

कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। अन्य यात्रुको अवस्था भने अझै खुल्न सकेको छैन।

गाडीमा कति जना सवार थिए भन्ने विवरण पनि यकिन भइसकेको छैन। दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान साढे ११ बजे दुर्घटनाको सूचना प्राप्त भएपछि उद्धार टोली तत्काल घटनास्थलतर्फ खटिएको हो। दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ।

प्रहरीले उद्धार कार्यलाई तीव्र बनाउँदै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।