राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार पाँच वर्षसम्म नढल्ने बताएका छन् ।
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार ढल्ने हल्ला नचलाउन पनि उनले आग्रह गरे । ”यो सरकार पाँच वर्षसम्म ढल्दैन । सरकार ढल्छ भनेर हल्ला चलाउनेहरू बरु बेहोस भएर ढल्लान् तर सरकार ढल्दैन,” उनले भने ।
आन्दोलनबाट सरकार नढल्ने उनले बताए । ”मैले सुनेको छु चाडपर्वपछि आन्दोलन हुँदैछ । सरकार ढाल्ने आन्दोलन भनिएको छ । आन्दोलनबाट सरकार ढल्नेछैन । सरकार ढाल्ने तागत जनतासँग मात्रै छ । हामीले काम गर्न सकेनौँ भने जनताले हाम्रो सरकार ढालिदिनेछन्,” उनले भने ।
लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए । रास्वपाले पाएको जनमतको अवमूल्यन र सरकारप्रति शंका व्यक्त नगर्न उनले आग्रह गरे ।












