श्रीमती हत्या आरोपमा नेपाली ब्रो सहित दुई जनालाई थुनामा पठाउन आदेश

Image

श्रीमती ईश्वरी भुजेलको हत्या अभियोगमा नेपाली ब्रो भनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले दुई जनालाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

यही कसुरमा प्रतिवादी रहेका विक्रम थापा मगर र पुजन थापा क्षेत्रीबाट एक-एक लाख रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिन अघि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन बुझाएसँगै सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरेको थियो।

गत जेठ २२ गते राति साढे ३ बजेतिर तारकेश्वर नगरपालिका-६ पैयुटारमा ईश्वरी भुजेलको हत्या भएको हो। अनुसन्धानको क्रममा उनका श्रीमान नेपाली ब्रो भनिने कुमार थापा मगरले धारिलो हतियार प्रहारगरेको खुलेको थियो।

उनले सरकारी वकिलसँगको बयानमा पनि हत्या गरेको स्वीकारेका छन्। उनले अन्य व्यक्तिको संलग्नता नरहेको समेत बताएका छन्। यद्यपि प्रहरीले प्रेमिका प्रतीक्षालाई पनि प्रतिवादी बनाएको थियो।