साझाका आठ बसलाई ‘ब्लु बस’ बनाउने तयारी

Image

सरकारले महिलाको सुरक्षित र निःशुल्क आवागमन सुनिश्चित गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी थालेको छ। पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ।पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालका अनुसार सरकारको नीतिअनुसार महिलालाई निःशुल्क र सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउन ब्लु बस सञ्चालनको तयारी भइरहेको हो। उनले ब्लु बस सञ्चालनको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने जानकारी दिए।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा रूपान्तरण गर्ने सैद्धान्तिक सहमति भइसकेको बताए। उनका अनुसार बजेटलगायत केही प्रशासनिक प्रक्रिया पूरा भएपछि सेवा सञ्चालनमा आउनेछ।पहिलो चरणमा रिङरोडमा चार वटा, लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा तथा विमानस्थल–नागढुंगा रुटमा दुई वटा ब्लु बस सञ्चालन गर्ने योजना रहेको छ। अर्यालले सकेसम्म साउन महिनाभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाको ९७औँ बुँदामा महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने उल्लेख छ। सो कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र २५ वटा ब्लु बस सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ।नयाँ बस खरिद गर्दा समय लाग्ने भएकाले हाल सञ्चालनमा रहेका साझा यातायातका बसलाई नै ब्लु बसका रूपमा सञ्चालन गर्ने तयारी गरिएको सरकारी अधिकारीहरूले बताएका छन्।

साझा यातायातमा नेपाल सरकारको ९० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ। कम्पनीमा नेपाल सरकारसँगै काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको पनि लगानी रहेको छ।