इजरायलले इरानी वार्ताकारलाई निशाना बनाउन सक्ने अमेरिकाको चिन्ता

Image

इरानसँगको शान्ति सम्झौता सफल बनाउन सक्रिय रहेका शीर्ष इरानी वार्ताकारमाथि इजरायलले हत्या प्रयास गर्न सक्ने आशंकाप्रति अमेरिका गम्भीर रूपमा चिन्तित भएको छ।

द वासिङ्टन पोस्टका अनुसार अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई विदेशमन्त्री अब्बास अराग्ची र सभामुख मोहम्मद बाघेर गालिबाफमाथि सम्भावित आक्रमणको जोखिमबारे सचेत गराएको थियो।

अमेरिकी अधिकारीहरूको भनाइ उद्धृत गर्दै वासिङ्टन पोस्टले लेखेअनुसार, यी दुई नेताको हत्या भए इरानभित्र शान्ति वार्तालाई अघि बढाइरहेका प्रभावशाली नरमपन्थी नेतृत्व कमजोर हुने र युद्ध अन्त्यका प्रयासमा गम्भीर असर पर्ने अमेरिकी मूल्यांकन थियो।

अमेरिकाले युद्ध अन्त्य गराउने तथा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गराउने प्रयास गरिरहेका बेला इजरायलले इरानका शीर्ष वार्ताकारलाई निशाना बनाउन सक्ने डर रहेको उच्च अमेरिकी अधिकारीहरूको भनाइ छ।

यसअघि इरानको सर्वोच्च सुरक्षा परिषद्का तत्कालीन सचिव अलि लरिजानीको हत्याप्रति पनि अमेरिका असन्तुष्ट रहेको उल्लेख गरिएको छ। लरिजानीको मृत्युपछि गालिबाफ इरानका सबैभन्दा प्रभावशाली नेतामध्ये एक बनेका मानिन्छन्। त्यसैले उनीमाथि पनि आक्रमण हुन सक्ने सम्भावनालाई अमेरिकाले गम्भीर रूपमा लिएको बताइएको छ।

यसैबीच, द न्यूयोर्क टाइम्सले यसअघि प्रकाशित गरेको अर्को रिपोर्टमा इरानसँगको शान्ति वार्तामा संलग्न अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशंका अमेरिकी खुफिया निकायहरूले व्यक्त गरेको उल्लेख गरिएको थियो।

रिपोर्टअनुसार, इरानसँग भएका गोप्य वार्ताका विवरण तथा अमेरिकी अडानबारे जानकारी हासिल गर्न इसराइलले अमेरिकी अधिकारीहरूको सञ्चार निगरानी गरेको हुन सक्ने अमेरिकी मूल्यांकन छ।

यद्यपि अमेरिका र इसराइलबीच लामो समयदेखि घनिष्ठ खुफिया साझेदारी रहे पनि, इरानसँगको वार्ताका क्रममा इसराइलले अमेरिकी गतिविधिमाथि गरेको भनिएको निगरानीले स्वीकार्य सीमाभन्दा बाहिर गएको केही अमेरिकी अधिकारीहरूको भनाइ उद्धृत गर्दै टाइम्सले जनाएको छ।