काठमाडौंको शंखमुलस्थित ब्वाइज होस्टलमा २२ वर्षीय युवकको हत्या

Image

काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा एक युवकको हत्या आरोपमा फरार रहेका प्रमित पटेल पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित उक्त होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

प्रहरीका अनुसार, कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिट गरेका थिए।

गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।

पक्राउ परेका पटेललाई काठमाडौं ल्याइँदै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।