भेनेजुएलाका भूकम्पपीडित १२ वर्षीय समर्थकलाई रोनाल्डोको भिडियो सरप्राइज

Image

भेनेजुएलामा आएको विनाशकारी भूकम्पपछि हजारौं परिवार शोक र पीडामा डुबेका छन्। यही दुःखद अवस्थाबीच महान फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको एउटा भिडियोले अहिले चर्चा बटुलिरहेको छ ।

भूकम्पका पीडितमध्ये एक हुन् १२ वर्षीय एन्ड्रेस मिएलेस । विनाशकारी भूकम्पमा उनले आफ्ना परिवारका सबै सदस्य गुमाए। भवनको भग्नावशेषमा पुरिएका उनलाई उद्धार टोलीले जीवितै बाहिर निकाले पनि गम्भीर चोटका कारण चिकित्सकहरूले उनको एउटा खुट्टा काट्न बाध्य भएका थिए।

अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका एन्ड्रेसलाई बाँच्ने हौसला दिने एउटै सपना थियो—आफ्ना आदर्श खेलाडी क्रिस्टियानो रोनाल्डोलाई एकपटक प्रत्यक्ष खेलिरहेको हेर्ने।

जब एन्ड्रेसको यो इच्छा रोनाल्डोसम्म पुग्यो, उनले व्यक्तिगत रूपमा भिडियो सन्देश पठाएर बालकलाई ठूलो सरप्राइज दिए। भिडियोमा रोनाल्डोले एन्ड्रेसको साहसको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

भावुक सन्देशमा रोनाल्डोले भने, “मैले यो भिडियो तिमीलाई अँगालो हाल्नकै लागि बनाएको हुँ। मलाई थाहा छ, तिमी मेरो ठूलो समर्थक हौ। जब तिमी पूर्ण रूपमा निको हुन्छौ, म तिमीलाई मेरो खेल प्रत्यक्ष हेर्न आउन निम्तो दिन चाहन्छु। हामी सँगै रमाइलो गर्नेछौं।”

मोबाइलमा रोनाल्डोको सन्देश हेर्दै अस्पतालको शय्यामा भावुक बनेका एन्ड्रेसको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। विश्व चर्चित फुटबल पत्रकार फाब्रिजियो रोमानो र स्पेनी सञ्चारमाध्यम डियारियो एएसले भिडियो सार्वजनिक गरेपछि यो कथा विश्वभर फैलिएको हो।

अहिलेसम्म एन्ड्रेसले रोनाल्डोको खेल कहिले र कहाँबाट प्रत्यक्ष हेर्नेछन् भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डोले एन्ड्रेसका लागि आफ्नो हस्ताक्षर गरिएको पोर्चुगल राष्ट्रिय टोलीको जर्सी पनि पठाउने तयारी गरेका छन्।

उपचारका क्रममा एन्ड्रेसले आफ्नो अर्को ठूलो इच्छा पनि सार्वजनिक गरेका थिए। भूकम्पमा उनको पानिनी फिफा विश्वकप स्टिकर एल्बम हराएको थियो, जससँगै क्रिस्टियानो रोनाल्डोको स्टिकर पनि गुमेको थियो। त्यसपछि उनले फेरि रोनाल्डोको पानिनी विश्वकप स्टिकर पाउने चाहना व्यक्त गरेका थिए।

उनको यो भावुक कथा सामाजिक सञ्जालमा फैलिनासाथ हजारौं फुटबल समर्थकहरूले रोनाल्डोलाई ट्याग गर्दै एन्ड्रेसको सपना पूरा गरिदिन आग्रह गरेका थिए। अन्ततः त्यो सन्देश रोनाल्डोसम्म पुग्यो र उनले भिडियोमार्फत हौसला दिनुका साथै आफ्नो खेल प्रत्यक्ष हेर्न निम्तो दिएका हुन्।

भेनेजुएलामा आएका लगातार दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सार्वजनिक तथ्यांकअनुसार यस प्रकोपमा २ हजार ६ सय ४५ जनाको ज्यान गएको छ भने १२ हजार ६ सयभन्दा बढी घाइते भएका छन्। हजारौं परिवार अझै पनि विस्थापित अवस्थामा राहत र पुनःस्थापनाको प्रतीक्षामा छन्।

उता, रोनाल्डो नेतृत्वको पोर्चुगलले फिफा विश्वकप २०२६ को नकआउट चरणमा क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। उक्त खेलमा ४१ वर्ष १४७ दिनका रोनाल्डोले विश्वकपको नकआउट चरणमा खेल्ने र गोल गर्ने सबैभन्दा पाका खेलाडीको नयाँ कीर्तिमान कायम गरे। उनले ६८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै विश्वकपको नकआउट चरणमा आफ्नो पहिलो गोल पनि दर्ता गरेका थिए।

अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

https://www.facebook.com/watch/?v=2030097550910193