टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई संयुक्त राज्य अमेरिका र इरानबिचको शान्ति सम्झौता भंग गर्ने अनुमति दिन नहुने बताएका छन्। उनले भनेका छन्, ‘क्षेत्रीय देशहरूको समर्थन र सहयोगबिना मध्यपूर्वमा शान्ति स्थापना सम्भव छैन।’
समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार इस्तानबुलमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँग संयुक्त पत्रकार सम्मेलन गर्दै उनले उक्त धारणा राखेका हुन् ।
एर्दोगानले भने, ‘क्षेत्रीय देशहरूको इच्छा र योगदानमा आधारित समाधान मात्र दिगो हुन सक्छ। क्षेत्रीय देशहरूको समर्थन नभएको कुनै पनि समाधान लामो समयसम्म टिक्दैन ।’
उनले थपे, ‘हामी संयुक्त राज्य अमेरिका र इरानबिचको सम्झौता बिगार्न इजरायली सरकारले गरिरहेको प्रयासलाई नजिकबाट नियालिरहेका छौँ। वर्तमान इजरायली सरकार निरन्तर युद्धको बाटोमा लागिरहेको छ। यसलाई फेरि एकपटक हाम्रो क्षेत्रलाई बारुद र रगतको गन्धमा डुबाउन दिन हुँदैन ।’
एर्दोगानले इजरायलविरुद्ध अमेरिका-इरान सम्झौता कमजोर पार्न खोजेको आरोप बारम्बार लगाएका छन्। उनले गाजा, लेबनान र सिरियामा इजरायलको सैन्य आक्रमणको पनि बारम्बार आलोचना गरेका छन् ।
यसअघि टर्कीका विदेशमन्त्री हकान फिदानले पनि इजरायल हाल नयाँ शत्रुको खोजीमा रहेको आरोप लगाएका थिए । फिदानले भनेका छन्, ‘जबसम्म इजरायल वा अन्य कुनै पनि पक्षले टर्कीको राष्ट्रिय र क्षेत्रीय हितविरुद्ध कार्य गर्न जारी राख्छ, तबसम्म हामीसँग डराउने, हिचकिचाउने वा पछि हट्ने कुनै कारण छैन ।’














