खामेनीको अन्त्येष्टिमा तीन छोरा देखिए, उत्तराधिकारी मोज्तबा अनुपस्थित

Image

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलि तथा नमाज कार्यक्रममा देशका शीर्ष राजनीतिक, सैन्य तथा धार्मिक नेतृत्वको उल्लेखनीय उपस्थिति देखिएको छ।

तेहरानस्थित ग्रान्ड मोसल्लामा आयोजित नमाजको नेतृत्व ९७ वर्षीय वरिष्ठ शिया धर्मगुरु आयातोल्लाह जाफर सोभानीले गरेका थिए।

कार्यक्रममा खामेनीका छोरा मसुद, मेइसाम र मुस्तफा उपस्थित थिए। इजरायल–अमेरिका आक्रमणपछि पहिलो पटक उनीहरू सार्वजनिक रूपमा देखिएका हुन्। तर खामेनीका अर्का छोरा तथा सम्भावित उत्तराधिकारी मानिएका मोज्तबा खामेनी भने कार्यक्रममा सहभागी भएनन्।

श्रद्धाञ्जलि कार्यक्रममा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख अहमद वहिदी पनि उपस्थित थिए। फेब्रुअरीमा भएको अमेरिका–इजरायल आक्रमणपछि उनी पहिलो पटक बिहीबार सार्वजनिक रूपमा देखिएका हुन्।

यसैगरी राष्ट्रपति मसुद पेजेशकियान, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ तथा कुद्स फोर्सका कमाण्डर इस्माइल कानी पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी थिए।

तेहरानमा आयोजित उक्त समारोहमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो। अमेरिका र इजरायलविरुद्ध बदला लिनुपर्ने सार्वजनिक माग चर्किरहेका बेला भएको यस कार्यक्रममा सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो।