नेप्सेमा २६ अंकको पहिरोसँगै १३ वटै उपसमूह राताम्य

Image

पूँजीबजारमा सोमबार चौतर्फी निराशा छाएको छ। कारोबार रकम र सूचक दुवैमा संकुचन आउँदा शेयर बजार परिसूचक नेप्से २६.२९ अंक (०.९९ प्रतिशत) ले ओरालो लागेर २६२७ अंकमा ओर्लिएको छ। गत साताको अन्तिम दिन शुक्रबार ८.३० अंकले घटेको बजारले सोमबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएपछि लगानीकर्तामा ‘पर्ख र हेर’को मनोविज्ञान हाबी भएको छ। यसैबीच, नेपाली पूँजीबजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अप्रत्याशित प्रशासनिक हलचल पैदा भएको छ।

बजार घटिरहेका बेला नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। २०८१ चैत १९ गते मात्रै सीईओ नियुक्त भएका चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन्। उनले राजीनामाको कारण व्यक्तिगत भएको उल्लेख गरे पनि बजारको उतारचढाव र नीतिगत दबाबका बीच साढे तीन महिनामै उनको बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सोमबार बजारमा परिसूचक मात्र होइन, कारोबार रकममा पनि उल्लेख्य गिरावट आयो। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार कुल ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ। कुल ३५६ वटा स्क्रिप्टको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच हुँदा बजारका सबै १३ वटै उपसमूहमा रातो पोतियो। सबैभन्दा बढी गिरावट व्यापार समूहमा देखियो, जुन ३.१५ प्रतिशतले घट्यो। पूँजीकरणका आधारमा ठूलो मानिने विशाल बजार कम्पनीको शेयर मूल्य ३.५० प्रतिशतले ओरालो लागेपछि समग्र व्यापार समूह नै नराम्ररी प्रभावित बन्यो।

प्रमुख उपसमूहको गिरावट अवस्था यस्तो रह्यो– बैंकिङ– १.०६ प्रतिशत, फाइनान्स– १.२४ प्रतिशत, उत्पादन तथा प्रशोधन– १.१७ प्रतिशत, निर्जीवन बीमा– ०.९८ प्रतिशत, जलविद्युत् ०.९८ प्रतिशत,
सोमबार बजारमा कुल २३९ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ३४ कम्पनीका लगानीकर्ताले मात्र कमाउन सके। ४ कम्पनीको मूल्य भने स्थिर रह्यो। यस दिन थ्रीस्टार हाइड्रोको शेयर मूल्यमा सर्वाधिक १३.७९ प्रतिशतको पहिरो गयो भने नेपाल फाइनान्स ११.६४ प्रतिशत र खानीखोला हाइड्रो ९.७२ प्रतिशतले घटे। तर, घट्दो बजारमा पनि तीनवटा कम्पनीहरू– सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो।

नेप्से सीईओको आकस्मिक राजीनामा र बजारमा परिसूचकसँगै कारोबार रकममा आएको संकुचनले आगामी दिनमा नीतिगत सुधार नभए पूँजीबजार थप धकेलिन सक्ने संकेत गरेको छ।