रास्वपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई हटाउन सकिने

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संशोधित विधानमार्फत पार्टी सभापतिलाई संसदीय दलमाथि थप अधिकार दिएको छ। नयाँ व्यवस्थाअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरे संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने प्रावधान राखिएको छ।

संशोधित विधानले पार्टी सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक तथा राजनीतिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारीका रूपमा समेटेको छ। सभापति स्वयं संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक मार्गनिर्देशन दिने अधिकार सभापतिलाई प्रदान गरिएको छ।

रास्वपाको संसदीय दलको नेतामा प्रधानमन्त्री बालेन्द्र शाह छन् । विधानमा सभापतिले दिएको मार्गनिर्देशनको पालना संसदीय दल, संसदीय दलका नेता तथा सबै सांसदहरूको अनिवार्य कर्तव्य हुने स्पष्ट उल्लेख गरिएको छ।

यसै व्यवस्थालाई आधार बनाएर विधानको दफा ६८ (१–ङ) मा संसदीय दलको नेता पदमुक्त गर्न सकिने व्यवस्था गरिएको छ। उक्त दफाअनुसार दफा ११ (क) को उपदफा ३ बमोजिम सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरे संसदीय दलको नेतालाई पदबाट हटाउन सकिनेछ।

अर्थात्, संशोधित विधानअनुसार पार्टी सभापतिले दिएको नीतिगत निर्देशन संसदीय दलका नेता तथा सांसदहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। निर्देशनको अवज्ञा गरेमा सभापतिले संसदीय दलको नेतालाई समेत पदमुक्त गर्न सक्ने अधिकार पाउने व्यवस्था गरिएको छ।