सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक संरचनामा व्यापक हेरफेर गर्दै वरिष्ठ नेता जति जना पनि थप्न सकिने नयाँ व्यवस्था गरेको छ।
असार ७-१२ चितवनमा सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनबाट पारित चौथो संशोधित विधान (२०८३) अनुसार रास्वपाले सभापतिले चाहेमा वरिष्ठ नेताको सङ्ख्या अझै बढाउन सक्ने विशेष अधिकार गरेको हो।
यसअघि प्रधानमन्त्री समेत रहेका वालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेता बनाउने गरी पद राखिएको थियो। तर त्यसमा अहिले संशोधन गरेर वरिष्ठ नेता थप्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ।
पार्टीमा वरिष्ठ नेताको पद सभापतिपछिको दोस्रो स्थानमा हुनेछ। वरिष्ठ नेताहरूको संख्या दुई वा दुईभन्दा बढी भएको अवस्थामा वरीयताक्रम केन्द्रीय समितिले निर्णय गरी निर्धारण गर्ने विधानमा व्यवस्था गरिएको छ।
यस्तो छ वरिष्ठ नेतासम्बन्धी विधानमा गरिएको व्यवस्थाः
(१) पदको व्यवस्था र मनोनयन: पार्टीको नीति निर्माण र साङ्गठनिक सुदृढीकरणमा लामो समयदेखि विशेष योगदान पुर्याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका नेतालाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले ‘वरिष्ठ नेता’ मनोनीत गर्न सक्नेछ ।
(२) मर्यादा तथा वरीयताक्रम: पार्टीको साङ्गठनिक मर्यादाक्रम तथा केन्द्रीय समितिको बैठकलगायत सम्पूर्ण औपचारिक कार्यक्रमहरूमा वरिष्ठ नेताको वरीयता पार्टी सभापतिपछिको दोस्रो (द्वितीय) स्थानमा रहनेछ ।
(३) बहु-वरिष्ठ नेताको वरीयता निर्धारण: मनोनीत वरिष्ठ नेताहरूको सङ्ख्या दुई वा दुईभन्दा बढी भएको अवस्थामा, निजहरूबीचको आपसी वरीयताक्रम केन्द्रीय समितिले निर्णय गरी निर्धारण गरेबमोजिम हुनेछ।















