ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफैँलाई दिए ७३ प्रतिशत अंक

Image

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो कार्यसम्पादनलाई ७३ प्रतिशत मूल्यांकन गरेका छन् । मन्त्रालय सम्हालेको सय दिनको उपलब्धिको समीक्षा गर्दै मन्त्री श्रेष्ठले आफ्नो मूल्यांकन गरेका हुन् ।

एक सय दिनका अवधिमा १८ हजारभन्दा बढी सार्वजनिक गुनासो समाधान गरिएको मन्त्रालयले जनाएको छ । साथै, सहिद परिवारका २५ जना सदस्यलाई रोजगारीको अवसर प्रदान गरिएको उल्लेख गरिएको छ । प्रशासनिक सुधारअन्तर्गत जिआइओएमएस प्रणाली पूर्ण रूपमा लागू गरिएको, ३२ प्रतिशत बेरुजु फर्छ्योट गरिएको उल्लेख छ ।

यस अवधिमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

सय दिनको अवधिमा देशको विद्युत् उत्पादन क्षमता एक सय ३८ मेगावाटले वृद्धि भई चार हजार दुई सय ४२ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण प्रणालीमा ७९ सर्किट किलोमिटर प्रसारणलाइन थपिएको छ भने चार सय ७२ गिगावाट घण्टाभन्दा बढी विद्युत् निर्यात गरिएको छ ।