गभर्नरले राखे बजेटले भनेभन्दा कम मूल्यवृद्धि लक्ष्य

Image

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा समग्र मूल्यवृद्धिदर (मुद्रास्फीति) ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत गभर्नर विश्वनाथ पौडेलले आपूर्तिजन्य दबाब केही समय कायम रहे पनि आर्थिक वर्षको अन्त्यतिर मुद्रास्फीति घट्दै जाने प्रक्षेपण प्रस्तुत गरेका हुन्।

यसअघि जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा मूल्यवृद्धिदर ६ प्रतिशत रहने अनुमान गरिएको थियो। तर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्योभन्दा कम, ५.५ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएको हो।

गभर्नर पौडेलका अनुसार पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुको मूल्यवृद्धिका कारण सिर्जित मुद्रास्फीतिको दबाब आगामी केही महिना कायम रहनेछ। यद्यपि आपूर्ति प्रणालीमा सुधार हुँदै गएसँगै आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि मूल्यवृद्धिको दबाब घट्ने र वार्षिक मुद्रास्फीति ५.५ प्रतिशतभित्र रहने अपेक्षा गरिएको छ।

यद्यपि अर्थतन्त्रका जानकारहरूले भने मूल्यवृद्धिदर ६ प्रतिशतभित्र सीमित राख्नसमेत चुनौतीपूर्ण हुने टिप्पणी गर्दै आएका छन्। यस्तो अवस्थामा राष्ट्र बैंकले लिएको ५.५ प्रतिशतको लक्ष्य प्राप्ति आपूर्ति अवस्था, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तथा खाद्यान्न आपूर्तिको अवस्थामाथि निर्भर रहने विश्लेषण गरिएको छ।