नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँको ठगी र सङ्गठित अपराध प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार बनाउँदै दोषी ठहर गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई मतियार भनी दोषी ठहर गरेको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी र बिचौलियाहरूलाई दोषी ठहर गरेको हो। रायमाझीलाई यस प्रकरणको ‘प्रमुख योजनाकार’ मध्ये एक मानिएको छ ।
बिचौलियाहरूसँग मिलेर नीतिगत सेटिङ मिलाउने र रकम असुलीमा संलग्न रहेको भन्दै उनलाई सङ्गठित ठगी र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
पूर्वगृहमन्त्री खाँणलाई सङ्गठित ठगी र सङ्गठित अपराधमा ‘मतियार’ को रूपमा दोषी ठहर गरिएको छ । उनले मन्त्री पदमा रहँदा बिचौलियाको स्वार्थ अनुसार निर्णय प्रक्रियामा सहयोग पुर्याएको फैसलामा उल्लेख छ ।
त्यस्तै पूर्वगृहसचिव टेकनारायण पाण्डे सरकारी लिखत किर्ते गर्ने र गिरोहलाई मन्त्रालयको गोप्य सूचना उपलब्ध गराउने कार्यमा पाण्डेको मुख्य भूमिका रहेको ठहर गरिएको छ। उनलाई सङ्गठित ठगी, किर्ते र राज्य विरुद्धको अपराधमा दोषी मानिएको छ ।













