नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुइलिएल्मो एरेनाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजीनामा दिएका छन् । स्विस–इटालियन प्रशिक्षक एरेनाले सोमबार राति आफ्नो लिंक्डइनमार्फत एन्फा र आफूबीच गरिएको जानकारी दिएका हुन्। उनले फिफाद्वारा एन्फामाथि लगाइएको निलम्बन का कारण राष्ट्रिय टोलीसँग सुरु गरिएको दीर्घकालीन परियोजनालाई अघि बढाउन असम्भव भएको बताएका छन्।
एरेनाले आफ्नो वक्तव्यमा फिफाको निलम्बनपछि छोटो तथा मध्यम अवधिको योजनाबारे कुनै स्पष्टता नरहेकाले टोलीको विकास प्रक्रिया निरन्तरता दिन नसकिएको उल्लेख गरेका छन्।
उनले नेपालको फुटबल गतिविधि पूर्ण रूपमा ठप्प भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै पुरुष तथा महिला राष्ट्रिय टोली, युवा खेलाडी र नेपाली फुटबलसँग आबद्ध सबैप्रति आफ्नो साथ र शुभकामना रहेको बताएका छन्।
“हालको परिस्थितिले मलाई अत्यन्त दुःखी बनाएको छ। नेपाली फुटबल गतिविधि रोकिएको देख्दा पीडा महसुस भएको छ,” उनले लेखेका छन्।
फिफाले एन्फालाई निलम्बन गरेपछि राष्ट्रिय टोलीका कार्यक्रम, प्रतियोगिताको तयारी तथा समग्र फुटबल गतिविधि प्रभावित बनेका छन्। यही परिस्थितिका कारण एरेनाले नेपालसँगको आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्।














