अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई कडा चेतावनी दिँदै अमेरिका आज राति पनि इरानमाथि शक्तिशाली सैन्य आक्रमण गर्न सक्ने बताएका छन्। खाडी क्षेत्रमा अमेरिकी सैन्य लक्ष्यहरूमा भएको आक्रमणपछि युद्धविराम समाप्त भएको घोषणा गरेको केही घण्टामै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।
नाटो शिखर सम्मेलनका क्रममा अंकारामा बोल्दै ट्रम्पले भने,’ ‘हामीले गएराति उनीहरूलाई निकै कडा प्रहार गर्यौं। सम्भवतः आज राति पनि फेरि कडा प्रहार गर्नेछौं। म उनीहरूलाई सानो चेतावनी दिन चाहन्छु, हामी आज राति उनीहरूलाई कडा प्रहार गर्नेछौं।’
ट्रम्पले इरानले जहाजहरूलाई लक्षित गर्दै ड्रोन र मिसाइल आक्रमण गरेको आरोप लगाउँदै तेहरानको व्यवहार अत्यन्त खराब रहेको बताए। उनले इरान विगत ४७ वर्षदेखि मध्यपूर्वमा’ दादागिरी गर्दै आएको दाबी गर्दै अब त्यो अवस्था अन्त्य भएको टिप्पणी गरे।
उनले इरानसँगको युद्धको मुख्य उद्देश्य इरानलाई परमाणु हतियार विकास गर्न नदिनु रहेको दोहोर्याए। ट्रम्पका अनुसार अमेरिका र इरानबीच वार्तामा प्रगति हुने गरे पनि इरानले बैठकबाट बाहिरिएपछि सार्वजनिक रूपमा त्यस्तो कुनै वार्ता नै नभएको दाबी गर्ने गरेको आरोप लगाए।
यसअघि ट्रम्पले इरानसँग भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेका थिए। यद्यपि उनले कूटनीतिक वार्ताका प्रयास भने जारी रहने संकेत दिएका छन्।
ट्रम्पको यो अभिव्यक्ति अमेरिकाले बन्दर अब्बास, सिरिक र क्शेम टापु मा रहेका इरानी लक्ष्यहरूमा ठूलो सैन्य आक्रमण गरेपछि आएको हो। अमेरिकी प्रशासनले उक्त कारबाहीलाई हर्मुजको जलमार्गमा जहाजहरूमाथि भएको आक्रमणको प्रतिकार भएको जनाएको छ।













