अमेरिकाले गर्यो इरानमा शक्तिशाली हवाई हमला

Image

हर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका विभिन्न क्षेत्रमा शक्तिशाली हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यावसायिक जहाजलाई निशाना बनाएको आरोप लगाउँदै इरानमाथि सैन्य कारबाही सुरु गरिएको जनाएको हो। अमेरिकाले गरेका धेरैजसो आक्रमणहरू नागरिक क्षेत्रहरूलाई लक्षित गरिएको छ। उक्त आक्रमणमा धेरै मानिसहरू घाइते भएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। आक्रमणका क्रममा विस्फोटका छर्राले केही सर्वसाधारण घाइते भएका हुन् ।

सेन्टकमका अनुसार इरानको आक्रामक गतिविधि अनुचित, खतरनाक तथा युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएकाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षाको रक्षा गर्न यो कारबाही गरिएको हो। अमेरिकाले यस कारबाहीको उद्देश्य व्यावसायिक जहाजमाथिको आक्रमणको मूल्य इरानलाई चुकाउनु पर्ने बनाउनु रहेको जनाएको छ।

उता, इरानका उपविदेशमन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना अमेरिका र इरानबीच भएको समझदारी सम्झौताको उल्लंघन भएको बताएका छन्। उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक र निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।

यसअघि अमेरिकाले हर्मुज जलडमरूमध्यमा भएका जहाजमाथिका आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै त्यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको थियो।

तेल प्रतिबन्ध फेरि कडा

सैन्य कारबाहीअघि अमेरिकाले मंगलबार इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति पनि रद्द गरेको थियो। उक्त अनुमति गत महिना भएको अमेरिका–इरान समझदारीअन्तर्गत इरानलाई तेल तथा पेट्रोलियम पदार्थ निर्यात गर्न दिइएको थियो।

इरानको विदेश मन्त्रालयले अमेरिकी निर्णयलाई सम्झौताको उल्लंघन भएको भन्दै यसले अमेरिकी सरकारको खराब नियत, असंगति र अविश्वसनीयता प्रमाणित गरेको आरोप लगाएको छ। मन्त्रालयले राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चालिने पनि स्पष्ट पारेको छ।

यद्यपि अमेरिकी अधिकारीहरूले अन्तिम सम्झौताका लागि वार्ता भने सद्भावका साथ निरन्तर अघि बढाइने बताएका छन्।

कतार र साउदी अरेबियाले पनि इरानलाई दोष दिए

कतार र साउदी अरेबियाले पनि आफ्ना तेलवाहक जहाजमाथि हर्मुज जलडमरूमध्यमा आक्रमण भएको भन्दै त्यसको जिम्मेवार इरान रहेको आरोप लगाएका छन्।

कतारले आफ्नो अल–रेकय्यात नामक जहाजमाथि लक्षित आक्रमण भएको दाबी गर्दै इरानलाई क्षेत्रीय सुरक्षा कमजोर पार्ने गतिविधि तत्काल बन्द गर्न र विश्व ऊर्जा आपूर्तिलाई जोखिममा नपार्न आग्रह गरेको छ।

साउदी अरेबियाले पनि आफ्नो वाद्यान नामक तेलवाहक जहाजलाई निशाना बनाइएको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय समुद्री यातायात र विश्व ऊर्जा सुरक्षामाथिको आक्रमण भनेको छ।

तर इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले कतारका आरोपलाई असल छिमेकी सम्बन्धको सिद्धान्तविपरीत भएको बताएका छन्। उनले इरानसँग समन्वय नगरी यात्रा गर्ने वा जहाजको ट्र्याकिङ प्रणालीमा हस्तक्षेप गर्ने जहाजहरू दुर्घटनाको जोखिममा पर्ने र त्यस्ता गतिविधिले सुरक्षित आवागमन सुनिश्चित गर्ने इरानको प्रयासमा बाधा पुर्‍याउने बताएका छन्।

थप जहाज पनि आक्रमणमा

बेलायती समुद्री व्यापार निगरानी संस्था यूके म्यारिटाइम ट्रेड अपरेसन्सका अनुसार सोमबार एउटा तेलवाहक जहाजको इन्जिन कक्षमा अज्ञात प्रक्षेप्य लागेपछि आगलागी भएको थियो।

मंगलबार भएका दुई छुट्टाछुट्टै घटनामा एउटा जहाज हर्मुज जलडमरूमध्य पार गरेपछि आक्रमणमा परेको भए पनि सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ अघि बढेको थियो। अर्को जहाजमा सामान्य संरचनात्मक क्षति पुगेको जनाइएको छ।

अमेरिका–इरान समझदारी के हो?

गत महिना अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीले युद्धविरामलाई निरन्तरता दिएको थियो। सम्झौतामा सबै मोर्चामा द्वन्द्व अन्त्य गर्ने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने तथा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने उल्लेख गरिएको छ। यद्यपि उक्त कोषमा अमेरिका अनिवार्य रूपमा रकम उपलब्ध गराउन बाध्य छैन।

सम्झौताअनुसार इरान र ओमानले अन्य खाडी राष्ट्रहरूसँग मिलेर हर्मुज जलडमरूमध्यको भविष्यको प्रशासन र समुद्री सेवाको व्यवस्थापनबारे छलफल गर्ने सहमति पनि भएको थियो।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि तेहरानले हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गर्दै ‘पर्सियन गल्फ स्ट्रेट प्राधिकरण’ स्थापना गरेको घोषणा गरेको थियो।

इरानी समाचार एजेन्सी फार्सका अनुसार नयाँ समझदारी कार्यान्वयन भएपछि हर्मुज जलडमरूमध्यको व्यवस्थापन इरान र ओमानको संयुक्त समन्वयमा हुने तथा त्यहाँबाट आवतजावत गर्ने जहाजबाट सेवा शुल्कसमेत लिन सकिने व्यवस्था हुनसक्ने उल्लेख गरिएको छ।