अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तीन साताअघि हस्ताक्षर गरिएको युद्धविरामसम्बन्धी समझदारी (एमओयू) अब समाप्त भएको घोषणा गरेका छन्। नाटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले “मलाई लाग्छ, त्यो सम्झौता अब सकिएको छ। उनीहरूसँग व्यवहार गर्नु समयको बर्बादी मात्र हो,” भने।
यद्यपि ट्रम्पले सम्झौता अन्त्य भएको घोषणा गरे पनि त्यसको व्यवहारिक असर के हुने भन्ने अझै स्पष्ट भएको छैन। केही साताअघि मात्रै उनले युद्ध जारी रहे “गम्भीर आर्थिक संकट” आउने चेतावनी दिएका थिए र द्वन्द्व अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
सम्झौतापछि पनि अमेरिका र इरानबीच तनाव रोकिएको थिएन। इरानले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरेको आरोप लागेको थियो भने त्यसको जवाफमा अमेरिकाले इरानी सैन्य संरचनामाथि प्रतिआक्रमण गरेको थियो। यी घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
यसअघि ट्रम्प प्रशासनले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न दिने सम्झौताको एउटा महत्वपूर्ण प्रावधान पनि रद्द गरिसकेको थियो, जसले दुई देशबीचको तनाव थप बढाएको थियो।
यद्यपि ट्रम्पले आफ्ना वार्ताकारलाई इरानसँग व्यापक आणविक सम्झौताका लागि वार्ता जारी राख्न अनुमति दिएको बताएका छन्। तर उनले त्यस्तो प्रयासलाई पनि “समयको बर्बादी” भन्दै सफल हुने सम्भावना न्यून रहेको संकेत गरे।














