भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

Image

नेपालमा आज पनि अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्। तर वर्षाको क्षेत्र र मात्रा भने मोडेलअनुसार फरक–फरक हुनसक्ने सम्भावना रहेको उनले बताएका छन्।

उनका अनुसार केही स्थानमा मोडेलले देखाएको भन्दा बढी वर्षा हुन सक्छ भने केही स्थानमा अपेक्षाभन्दा कम वर्षा हुनसक्छ। यसकारण नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, “केही ठाउँमा मोडेलले देखाएको भन्दा धेरै र केही ठाउँमा थोरै पनि वर्षा हुन्छ। त्यसैले सजग हुनुहोला।”

यस अवधिमा विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम बढ्न सक्ने, साथै नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

तराई क्षेत्रमा अपेक्षाकृत कम वर्षा

यसैबीच, पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान मोडेलहरूले वर्षाको सम्भावना देखाए पनि तराईका धेरै स्थानमा उल्लेख्य वर्षा हुन सकेको छैन।

मौसमविद् पोखरेलका अनुसार यसको मुख्य कारण वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रणाली कमजोर हुनु हो। पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा भइरहेको उनले बताएका छन्।

तर समथर तराई क्षेत्रमा बादल बनेर पनि पर्याप्त वर्षा हुन नसकेको मौसमविद्हरूको भनाइ छ। आगामी केही दिन मौसमको अवस्थाबारे नियमित जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।