इरानले मध्यपूर्वका चार देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी हवाई हमला गरेको छ। अमेरिकाले इरानमा हवाई आक्रमण गरेको जबाफमा इरानले गएराति बहराइन, कुवेत, जोर्डन, कतारमा मिसाइल र ड्रोनले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिका र इरानबीच बुधाबारदेखि हानाहान सुरू भएको हो।
बुधबार स्ट्रेट अफ हर्मुजमा इरानले तीन वटा जहाजहरूलाई लक्ष्य गरेर हमला गरेको आरोप लगाउँदै अमेरिकाले इरानको सैन्य अड्डा, रडार र प्रतिरक्षा प्रणालीलाई लक्ष्य गरेर प्रहार गरेको थियो। जबाफमा इरानले पनि मध्यपूर्वका अमेरिकी सैन्य अड्डाहरुलाई लक्ष्य गर्दै आएको छ।
गएरातिको हमला भने धेरै ठूलो रहेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ। बहराइनस्थित अमेरिकी नौसेनाको हेडक्वार्टर फिफ्थ फ्लिटमा कम्तिमा तीन पटक साइरन बजेको एपीले जनाएको छ। जोर्डनमा पनि साइरन बजेको थियो।
इरानी सरकारी टेलिभिजनले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई मिसाइल प्रहार गरेको दाबी गरेको छ। तर जोर्डन सरकारले सबै मिसाइल र ड्रोन आकाशमै खसालिएको जनाएको छ।
बहराइनले पनि सबै आक्रमण विफल पारिएको जनाएको छ भने कुवेतले तीनवटा ब्यालिस्टिक मिसाइल, एउटा क्रुज मिसाइल र १० वटा ड्रोन खसालेको दाबी गरेको छ। कुवेतमा मिसाइलका अवशेष खस्दा एक जना घाइते भएको त्यहाँको सेनाले जनाएको छ। कतारमा भने क्षतिको कुनै विवरण सार्वजनिक भएको छैन।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले इरानभर ९० वटा लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। सेन्टकमले विमानस्थलको धावनमार्ग, मिसाइल प्रक्षेपण स्थल लगायतका स्थानमा गरिएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ।
अमेरिकाले यी आक्रमणको उद्देश्य इरानको स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावतमा खतरा पुर्याउने क्षमता थप कमजोर बनाउनु रहेको जनाएको छ। युद्ध सुरु हुनुअघि विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
गत महिना भएको अस्थायी सहमतिपछि जलमार्ग पुनः खुला भएसँगै जहाज आवतजावत बढ्न थालेको थियो। समुद्री तथ्यांक कम्पनी लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार मे महिनामा २३३ जहाज मात्रै स्ट्रेट अफ हर्मुजबाट गुज्रिएका थिए भने जुनमा यो संख्या बढेर ५७६ पुगेको थियो।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बुशेहरसहित देशका विभिन्न स्थानमा विस्फोट भएको जनाएका छन्। बुशेहरमा इरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेको छ। स्थानीय अधिकारी एहसान जहानियानलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले अमेरिकाले बुशेहर आणविक केन्द्र नजिकै आक्रमण गरेको आरोप लगाएको छ।
तर सेन्टकमले आफ्नो विज्ञप्तिमा बुशेहर आणविक केन्द्रलाई लक्ष्य बनाएको उल्लेख गरेको छैन। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। अधिकांश मृतक इरानी सुरक्षा बलका सदस्य रहेको जनाइएको छ।














