त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।
करिब ५५ प्रतिशत शरीर जलेका नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको अवस्थामा निधन भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। उनका दाइ मदन नेपालीले अस्पतालबाट भाइको निधन भएको जानकारी पाएको बताएका छन्। अस्पतालले भने औपचारिक रूपमा मृत्यु घोषणा गर्न बाँकी रहेको जनाएको छ।
घटनापछि प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहित दुई जना प्रतिनिधि अस्पताल पुगेर मृतकका परिवारसँग समन्वय गरिरहेका छन्। उनीहरूले न्याम्सका कुलपति, रेक्टर, रजिस्ट्रार तथा वीर अस्पतालका निर्देशकसँग पनि छलफल गरिरहेको अस्पताल स्रोतले जनाएको छ। अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश नेपाली राइड सेयरिङ एपमार्फत राइडरको काम गर्दै आएका थिए। महानगर प्रहरीले आफूले पार्किङ गरेको मोटरसाइकलमा ह्विल लक लगाएर लैजान खोजेपछि उनले शुक्रबार दिउँसो राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













