हर्मुजमा पुन: नाकाबन्दी गरिने ट्रम्पको घोषणा

Image

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह हर्मुज स्ट्रेटमा फेरि नाकाबन्दी गर्ने घोषणा गरेका छन्। साथै उनले उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग २० प्रतिशत कर लिने घोषणा पनि गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हर्मुज स्ट्रेट खुला छ र इरानका साथ वा ऊबिना पनि खुला रहनेछ। हामी ‘इरानी नाकाबन्दी’ पुन: लागु गर्दैछौँ। यसलाई यस्तो नाम दिइएको छ, किनभने यसको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकका जहाजलाई आउजाउ गर्न रोक्नु हो।’

अन्य सबै देशलाई भने यो जलमार्ग निष्पक्ष र खुला रूपमा प्रयोग गर्न दिइने उनले उल्लेख गरेका छन्। 

अगाडि लेखेका छन्, अबदेखि संयुक्त राज्य अमेरिकालाई ‘हर्मुज स्ट्रेटको संरक्षक’ भनिनेछ। र, निष्पक्ष आधारमा यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै खर्च उठाउन यस जलमार्ग प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजलाई २० प्रतिशत शुल्क लगाइनेछ। यो व्यवस्था लागु गर्ने प्रक्रिया तुरुन्तै सुरु हुनेछ।’

अमेरिकी सेनाका अनुसार ट्रम्पको आदेशपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाहमा नाकाबन्दी पुनः लागु गरिनेछ। उता इरानको शीर्ष सैन्य मुख्यालय ‘खात्म अल-अन्बिया’ले भने अमेरिकालाई हर्मुजमा हस्तक्षेप गर्न नदिइने चेतावनी दिएको छ। 

इरानको सैन्य मुख्यालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हर्मुज स्ट्रेटमा अमेरिकाको बारम्बारको हर्कतले सम्पूर्ण क्षेत्रको सुरक्षालाई गम्भीर जोखिममा पारेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीले अमेरिकालाई यो महत्त्वपूर्ण समुद्री मार्ग नियन्त्रणमा लिन कहिल्यै अनुमति दिएका छैनौँ र दिने पनि छैनौँ।’नाकाबन्दीका लागि अमेरिकालाई गरिने कुनै पनि सहयोलाई ‘इरानको सार्वभौमसत्ताविरुद्धको युद्ध मानिने’ चेतावनी पनि इरानी सेनाले दिएको छ।

इरानी सेनाले अगाडि भनेको छ, ‘यदि द्वन्द्व अझ फैलियो भने युद्धको आगोले यस क्षेत्रका सबै देशलाई निल्नेछ।’