विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना जितसँगै नयाँ विवादमा तानिएको छ। खेलपछि अर्जेन्टिनी खेलाडीहरूले फकल्याण्ड टापु (अर्जेन्टिनाले माल्भिनास भन्ने) आफ्नो देशको भएको दाबी गरिएको राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेपछि आलोचना सुरु भएको हो।
एटलान्टा स्टेडियममा जितपछि खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनाज’ अर्थात् ‘माल्भिनास अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर बोकेर मैदानमै उत्सव मनाएका थिए। फिफाको नियमअनुसार खेल मैदानमा राजनीतिक सन्देश प्रदर्शन गर्न निषेध गरिएको छ। यो पहिलो पटक भने होइन। सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि पनि अर्जेन्टिनी खेलाडीहरूले यस्तै ब्यानर प्रदर्शन गरेका थिए। त्यसबेला फिफाले यसलाई राजनीतिक गतिविधि तथा टोलीको आचरणसम्बन्धी नियम उल्लंघन ठहर गर्दै अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो। यसपटक पनि फिफाले अर्जेन्टिनालाई कारबाही गर्ने जोखिम बढेको छ ।
फकल्याण्ड टापु दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो। तर अर्जेन्टिनाले यसलाई आफ्नो भूमि भन्दै माल्भिनास नामबाट दाबी गर्दै आएको छ। यही विवादका कारण सन् १९८२ को अप्रिलदेखि जुनसम्म बेलायत र अर्जेन्टिनाबीच ७४ दिन लामो युद्ध भएको थियो। युद्धमा ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा टापुका तीन सर्वसाधारणको मृत्यु भएको थियो।
अर्जेन्टिनाका खेलाडीहरूको ब्यानर प्रदर्शनसँगै समर्थकहरूको व्यवहार पनि विवादमा परेको छ। सेमिफाइनलअघि केही अर्जेन्टिनी समर्थकहरूले बेलायती झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको पनि आलोचना भइरहेको छ।
यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि पनि अर्जेन्टिनी खेलाडीहरूले यस्तै ब्यानर प्रदर्शन गरेका थिए। त्यसबेला फिफाले यसलाई राजनीतिक गतिविधि तथा टोलीको आचरणसम्बन्धी नियम उल्लंघन ठहर गर्दै अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।
सेमिफाइनल जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समा माल्भिनास अर्जेन्टिनाकै भएको दाबी दोहोर्याएकी छन्। उनले खेलअघि पनि सेमिफाइनललाई “अतिक्रमणकारीलाई उनीहरूको स्थान देखाउने अवसर” भनेकी थिइन्।
यसअघि अन्तिम १६ मा इजिप्टलाई ३–२ ले हराएपछि पनि अर्जेन्टिनी खेलाडीहरूले माल्भिनाससँगै डिएगो म्याराडोना र लियोनल मेसीको नाम जोडिएका नारा गाएका थिए।
यद्यपि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने सेमिफाइनलअघि नै फुटबल र राजनीतिलाई नजोड्न आग्रह गरेका थिए।
उनले भनेका थिए, “यो फुटबलको खेल हो। धेरै वर्षअघि भएको घटनाको सम्मानका लागि पनि म फुटबल र राजनीतिलाई मिसाउन चाहन्नँ। त्यो हाम्रो इतिहासको निकै दुःखद अध्याय थियो। संसारका अन्य ठाउँमा पनि युद्ध भइरहेका छन् र हामी युद्धको आलोचना गर्छौं। ती घटनामा ज्यान गुमाउनेहरूलाई हामी सम्झन्छौं, तर यो फुटबलको खेल हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन।”
ऐतिहासिक तनावलाई ध्यानमा राख्दै इंग्ल्यान्डविरुद्धको सेमिफाइनल कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न भएको थियो। अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। तर फाइनलअघि नै टोली खेलभन्दा बढी फकल्याण्ड विवादका कारण चर्चामा परेको छ।













