नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणका लागि ६ मार्की खेलाडी सार्वजनिक गरिएको छ ।
खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेस वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका छन् । यसैगरी, अन्नपूर्ण स्पाइकर किंग्समा हिमाल सुनारी, कर्णाली शिवराजमा पहल गहतराज, काठमाडौं रेड्समा सुनिल बोहरा मार्की छन् ।
धिरोजबाहेक पाँच खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोजसँग यू–१९ राष्ट्रिय भलिबल टोलीको कप्तानी गरेको अनुभव समेत छ । यस्तै, खप्तडमा रुपेशकुमार विष्ट, मधेसमा भरत यादव र सगरमाथामा उत्सव खड्का प्रशिक्षक छन् । यता, रमेश केसीले अन्नपूर्ण, चन्द्रबहादुर कुँवरले कर्णाली र नृपबहादुर विकले काठमाडौंको प्रशिक्षण सम्हाल्ने छन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुँदै छ ।















