अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुने भएका छन् । स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम छ ।
न्यु जर्सीमा हुने उक्त फाइनल ट्रम्पले प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ । यद्यपि, प्रतियोगिताका क्रममा उनको भूमिकाले यसअघि नै विवादसमेत निम्त्याएको छ ।
अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो ।
ट्रम्पले यो विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिता भएको दाबी गरेका छन् । प्रतियोगिताले अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता बढाएको उनको भनाइ छ । ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनलमा उपस्थित हुने जनाइएको छ ।
त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल हेर्न पुग्ने भएका छन् । प्रतियोगिताको सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ ।
न्यु जर्सीस्थित रंगशालावरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उनी आउने समय रंगशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ ।
ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको सम्बन्धलाई थप प्रगाढ बनाएका छन् । उनले विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले प्राप्त गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा उल्लेख गर्दै आएका छन् ।
यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरणपछि पनि विजेता टोलीसँगै मञ्चमै बसेको घटनाले चर्चा पाएको थियो । पछि उनले उक्त ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरेका थिए । तर, फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो ।














