भारतको कोलकातास्थित हल्दिया बन्दरगाहबाट छुटेको मालवाहक रेल विराटनगर कस्टम यार्ड आइपुगेको छ । दुई दिनअघि नेपाली उद्योगको सामान बोकेर रेल विराटनगरतर्फ गुडेको थियो । सोमबार दिउँसो रेल बथनाहा हुँदै विराटनगर आइपुगेको हो ।
रेल आइपुग्नुअगाडि विराटनगरको कस्टम यार्डमा पूजा गरिएको थियो । यो यार्ड इन्टिग्रेटेड चेक पोस्ट (आईपी) भित्रै छ । विराटनगरको स्वस्तिक आयल इन्डस्ट्रिजले क्यानोलाग्रेन रेल कार्गोमार्फत आयात गरेको हो । सामान बोकेर आएको भारतीय कन्टेनर ४० फिट चौडा रहेको छ । यसमा ४० कन्टेनर सामान पठाइएको छ । इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ ।
भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ प्रणाली सम्बन्धी व्यवस्थामा संशोधन गरेको थियो । यस सम्बन्धी सूचना सन् २०२५ नोभेम्बर ४ मा प्रकाशन गरेपछि भारतको कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहबाट विराटनगरसम्म रेलमार्गमा कार्गो ढुवानी गर्न मिल्ने बाटो खुला भएको हो ।
यसबारे कोलकाता महावाणिज्य दूतावास कार्यालयले पनि सूचनामार्फत रेलमार्फत ढुवानी गर्न सकिने जनाएको थियो । त्यसपछि विराटनगरका व्यवसायीले रेल कार्गोबाट सामान मगाएका हुन् । रेललाई स्वागत गर्न भारत तथा नेपालस्थित आईसिपीमा नेपाल–भारतस्थित भन्सार कार्यालयका पदाधिकारी र उद्योगी तथा व्यवसायी पुगेका थिए ।
यसबाट अब डिमेरेज, कन्टेनर डिटेन्सन र ढुवानीको अतिरिक्त खर्च घट्ने विराटनगरका उद्योगीले बताएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले रेलमार्फत ढुवानी हुन थालेपछि औद्योगिक कच्चा पदार्थ मगाउँदा खर्च घट्ने बताउँदै भने, ‘‘यो समयको हामी धेरै अघिदेखि प्रतीक्षारत थियौैँ ।’’
विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा धेरैअघि रेल्वे स्टेसन तयार भएको हो । तर, परीक्षण गर्न बथनाहाबाट आएयता कुनै पनि रेल आएका थिएनन् । कोलकाता बन्दरगाहमा आयोजित एक कार्यक्रमबीच नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गोको शुभारम्भ गरेका थिए ।















