जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि देशभर वर्षाको गतिविधि क्रमशः कम हुँदै जाने जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले सोमबार र मंगलबार भने विभिन्न स्थानमा वर्षा जारी रहने विभागले जनाएको हो।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आज र भोलि देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। बुधबारदेखि भने वर्षाको तीव्रता बिस्तारै घट्दै जाने अनुमान गरिएको छ।
आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा जारी रहने विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने भएकाले विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ।
विभागले बुधबारदेखि वर्षाको तीव्रता घट्ने अनुमान गरे पनि मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।















