लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार

Image

सरकारले  चासो दिन थालेपछि सेयरबजारमा सकारात्मक प्रभाव पर्न थालेको छ। 

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मात्रै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका पदाधिकारीसँगै ब्रोकर र लगानीकर्तासँग भेटेका थिए। सो क्रममा उनले पुँजीबजारलाई देशको आर्थिक समुन्नतिमा जोड्ने भन्दै विशेष प्राथमिकता दिने बताएका थिए। 

प्रधानमन्त्रीबाटै यस्तो आश्वासन पाएसँगै बजारमा सुधार आउन थालेको हो । मंगलबार नेप्से तीव्र उतारचढावका बीच ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको हो। योसँगै कुल ६ अर्ब ६७ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस दिन १०३ वटा सेयर बढ्दा १६२ वटा घटेका र १२ वटा अघिल्लो मूल्यमै कारोबार भएको छ। मंगलबारको कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर १४.९८ प्रतिशतले बढेको छ। बाँकी सेयर भने अधिकतम ७.५० प्रतिशतसम्म बढेका छन्। 

आज अधिकतम ७.४४ प्रतिशतसम्मको गिरावट देखिएको छ भने ५५ करोडसम्मको अधिकतम कारोबार भएको छ। यस दिन वाणिज्य बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह बढे पनि बाँकी घटेका छन्।