गोंगबुको होटलमा युवती मृत भेटिएको घटनामा दुई जना पक्राउ

Image

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलमा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे होटलको चौथो तलास्थित ४०४ नम्बर कोठाको काठको बक्स पलङभित्र एक महिलाको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारका रूपमा भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्दै आएका २७ वर्षीय रमेश बुढा र जिल्ला जुम्लाको चन्दननाथ नगरपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।