पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार २७ वर्षीय विशाल तामाङले ‘आत्मदाह गर्छु’ भन्दै आफ्नो शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तामाङको साथबाट पेट्रोल बरामद गरिएको थियो। उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराई आवश्यक काउन्सेलिङपछि रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार बालाजुस्थित एक बेकरी उद्योगमा कार्यरत तामाङ हाल काठमाडौंको जोरपाटीमा बस्दै आएका थिए। उनले जोरपाटीस्थित लामा पम्पबाट पेट्रोल खरिद गरी शीतलनिवास पुगेको खुलेको छ।
प्रहरीसँगको बयानमा तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न पाँच पटकसम्म प्रयास गरे पनि सफल हुन नसकेपछि निराश भएर यस्तो कदम चाल्न खोजेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














