इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप बजेट नपाए सैन्य तालिम कटौती गर्नुपर्ने चेतावनी

Image

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको बताएका छन्। यो रकम गत मे महिनामा सार्वजनिक गरिएको अनुमानभन्दा करिब ८ अर्ब डलर बढी हो।

अमेरिकी सिनेटको विनियोजन समितिको सुनुवाइका क्रममा डेमोक्र्याट सांसद डिक डर्बिनले युद्धको खर्चबारे प्रश्न उठाएपछि हेगसेथले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। अमेरिका–इरानबीच पुनः द्वन्द्व सुरु भएपछि उनी पहिलोपटक समितिसमक्ष उपस्थित भएका थिए।

हेगसेथले कंग्रेसले तत्काल थप बजेट स्वीकृत नगरे वर्तमान र भविष्यका सैन्य तालिमहरू कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिए। उनका अनुसार रक्षा मन्त्रालयले ८७ अर्ब डलरको थप बजेट माग गरेको छ, जसमा ६७ अर्ब डलर मध्यपूर्वका सैन्य अभियानका लागि छुट्याइएको छ।

सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले पटक–पटक अवरोध गर्दै “इरान र प्यालेस्टाइनमा हाम्रा बालबालिकामाथि बमबारी बन्द गर” भन्दै नाराबाजी गरेका थिए।

हेगसेथले विश्व अहिले अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाको सैन्य शक्ति कायम राख्न आवश्यक लगानी अपरिहार्य भएको बताए। उनका अनुसार प्रत्येक डलर अमेरिकी सैन्य क्षमता अभिवृद्धि र राष्ट्रिय सुरक्षाका लागि खर्च गरिनेछ।

सिनेट विनियोजन समितिकी अध्यक्ष रिपब्लिकन सांसद सुसान कलिन्सले आवश्यक बजेट नपाए त्यसको असरबारे प्रश्न गर्दा हेगसेथले सैन्य तयारी र तालिममा प्रत्यक्ष असर पर्ने बताए। उनले पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनमाथि रक्षा बजेट घटाएको आरोपसमेत लगाए।

यता समितिकी वरिष्ठ डेमोक्र्याट सांसद प्याटी मरेले भने ट्रम्प प्रशासनको बजेट प्रस्तावको आलोचना गर्दै यसलाई पर्याप्त आधारविहीन र सामान्य विनियोजन प्रक्रियालाई छल्ने प्रयास भएको आरोप लगाइन्।

यद्यपि, दुई डेमोक्र्याटिक स्रोत र विषयमा जानकार अर्को एक स्रोतका अनुसार इरान युद्धको वास्तविक खर्च सार्वजनिक गरिएकोभन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ। किनभने हालको गणनामा क्षतिग्रस्त अमेरिकी सैन्य अड्डाहरूको पुनर्निर्माणजस्ता खर्च समावेश गरिएको छैन।

यसअघि मे १२ मा पेन्टागनका एक वरिष्ठ अधिकारीले इरान युद्धमा २९ अर्ब डलर खर्च भएको बताएका थिए। त्यसयता पहिलोपटक आधिकारिक रूपमा खर्च ३७.५ अर्ब डलर पुगेको जानकारी दिइएको हो।

यसैबीच, अमेरिकाले लगातार ११औँ दिन पनि इरानमाथि सैन्य आक्रमण जारी राखेको छ भने इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी तथा उसका सहयोगी लक्ष्यहरूमा जवाफी आक्रमण गरिरहेको छ। अमेरिका र इरानबीच अप्रिलमा भएको युद्धविराम भंग भएपछि गत सातादेखि पुनः द्वन्द्व चर्किएको हो।