संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारविरुद्ध नयाँ आयात शुल्क लागु गरेपछि चीनले कडा विरोध गर्दै व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। चीनले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ।
अमेरिकाले शुक्रबारदेखि लागु गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म छ। चीनलाई सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्कको दायरामा राखिएको छ। अमेरिकी प्रशासनले जबरजस्ती श्रमसम्बन्धी चिन्तालाई आधार बनाएर यो निर्णय गरिएको दाबी गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने बताए। उनले व्यापार युद्ध वा शुल्क युद्ध कुनै पनि पक्षको हितमा नहुने भन्दै यस्ता कदमले सहकार्यभन्दा द्वन्द्वलाई बढावा दिने चेतावनी दिए।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने संयुक्त राज्य अमेरिकाले लामो समयदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा कडा प्रतिबन्ध लगाउँदै आएको र व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउनुपर्ने समय आएको बताएका छन्।
नयाँ व्यवस्था यस वर्षको सुरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेको अस्थायी विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो।
फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको केही शुल्क अधिकार सीमित गरेपछि ट्रम्प प्रशासनले नयाँ कानुनी आधारमा शुल्क नीति पुनः लागु गरेको हो।
घोषणाअनुसार क्यानाडा, युरोपेली संघ (ईयू) र संयुक्त अधिराज्यजस्ता जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागु गरेका मुलुकलाई १० प्रतिशत शुल्क लगाइएको छ भने चीन, भारत, जापानलगायतका प्रमुख व्यापारिक साझेदारमाथि १२.५ प्रतिशतसम्मको उच्च शुल्क लागु गरिएको छ।
गत वर्ष लामो व्यापार तनावपछि अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङको भेटवार्तापछि दुवै देशबिच व्यापार विवाद केही समयका लागि मत्थर भएको थियो।
यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि दुवै पक्षले शुल्क घटाउने दिशामा काम गर्ने संकेत दिएका थिए।
तर अमेरिकाका पछिल्ला निर्णयले दुई देशबिचको व्यापारिक तनाव पुनः चर्किने सम्भावना बढाएको विश्लेषण गरिएको छ।















