अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’

Image

नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिए । उनका अनुसार अन्य १० जनामाथि अनुसन्धान जारी छ ।

“विशेष अपरेशन सञ्चालन गरेर ५७ जनालाई पक्राउ गर्‍यौँ,” उनले भने, “त्यसमध्ये  ४७ जनालाई देश निकाला (डिपोर्ट) गरेर युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इन्डोनेसिया पठाइएको छ । १० जनामाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।”

उनले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी गराए ।

यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको उनको भनाइ छ छ ।

उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने विचौलियाविरुद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।