वर्षापछि देशभर सडक सञ्जाल प्रभावित, बीपी, अरनिको, मेचीसहित प्रमुख राजमार्ग अवरुद्ध

Image

निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले प्रभावित सडकमा यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कान्ति लोकपथमा पनि वर्षायामको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा प्रभावित भएको छ। हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, पासाङ ल्हामु सडकखण्डमा पहिरो खसेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ।

यता मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा बन्द भएको छ।

अवरुद्ध सडक खुलाउन सडक विभाग, स्थानीय तह तथा सुरक्षा निकायले पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेको नेपाल प्रहरीले जनाएको छ। यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।