सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको निकास खोज्न सरकारको थप उच्चस्तरीय टोली धनगढी पुगेको छ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरमार्फत आइतबार धनगढी पुगेका हुन्।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगिसकेका थिए। शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेपछि वार्ताबाट समाधान खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो।
धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवाद र सहमतिमार्फत डा. केसीको सत्याग्रहको निकास निकाल्ने प्रयास गरिरहेको जनाएको छ।
यसैबीच, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको स्वास्थ्य अवस्थाको नियमित निगरानी भइरहेको छ।















