आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार भारत, अमेरिका र चीन नेपालका प्रमुख पर्यटक स्रोत बजारका रूपमा रहेका छन्।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको करिब २५.७६ प्रतिशत हो। त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्।
त्यस्तै, बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन्।
महिनागत रूपमा हेर्दा कात्तिकमा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ।
नेपाल पर्यटन बोर्डले भारत र चीनजस्ता प्रमुख स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिएको जनाएको छ। गत आर्थिक वर्ष भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायत शहरमा १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। साथै अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।
बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटन क्षेत्रमा सकारात्मक वृद्धि भएको बताए।
उनले आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको संकेत गरेको उल्लेख गर्दै आगामी दिनमा चीन, अमेरिका, अष्ट्रेलिया र बंगलादेशजस्ता सम्भावनायुक्त बजारमा लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाइने बताए।
नेपाल सरकारले ‘आरोग्य पर्यटन वर्ष २०२७’ घोषणा गरिसकेको उल्लेख गर्दै बोर्डले चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमन अझ वृद्धि हुने अपेक्षा व्यक्त गरेको छ। साथै उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि बढाउने र नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने योजना रहेको बोर्डले जनाएको छ।














