डिम्ब तस्करी प्रकरण :  डा. नूतन र बिचौलियाबिच आर्थिक कारोबार भेटियो

Image

ललितपुरमा १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाएर डिम्ब (अन्डादान) झिकिएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। अनुसन्धानका क्रममा वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ चिकित्सक डा. नुतन शर्मा र डिम्ब तस्करीको आरोपमा पक्राउ परेकी २१ वर्षीया राधिका गोतामेबीच आर्थिक कारोबार भएको प्रमाण फेला परेको छ।

प्रहरीका अनुसार लमजुङ घर भई हाल ललितपुर बस्दै आएकी राधिका गोतामे जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छिन्। उनको मोबाइल परीक्षणका क्रममा डा. शर्माले मोबाइल बैंकिङमार्फत लगातार दुई दिन ५०–५० हजार रुपैयाँ पठाएको स्क्रिनसट फेला परेको हो। उक्त कारोबार २१ र २२ डिसेम्बर २०२५ मा भएको देखिएको छ।

प्रहरी स्रोतका अनुसार यस घटनामा पनि डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ उपलब्ध गराएकी थिइन्। तर पीडित किशोरीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसले यसअघि पनि युवतीहरूलाई डा. शर्मासम्म पुर्‍याएर गोतामेले रकम लिने गरेको आशंका बलियो बनेको अनुसन्धान अधिकारीहरूको भनाइ छ।

पीडित १७ वर्षीया किशोरीले आफूलाई साथीमार्फत डिम्ब झिक्दा केही हुँदैन, पैसा पनि आउँछ भन्दै प्रलोभनमा पारिएको बयान दिएकी छन्। त्यसपछि उनलाई राधिका गोतामेको सम्पर्कमा पुर्‍याइएको र गोतामेमार्फत ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगेर डिम्ब निकालिएको आरोप छ। डा. नुतन शर्मा उक्त अस्पतालको आईभीएफ केन्द्रमा कार्यरत छिन्।

पीडितका अनुसार सुरुमा हर्मोनसम्बन्धी इन्जेक्सन लगाइयो र करिब एक सातापछि डिम्ब निकालियो। गत असार १४ गते उक्त प्रक्रिया गरिएको दाबी गरिएको छ। त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि उनले परिवारलाई जानकारी दिएकी थिइन्। उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो।

पीडित किशोरीले डा. नुतन शर्माविरुद्ध प्रत्यक्ष संलग्नताको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। तर डा. शर्मा हालसम्म पक्राउ परेकी छैनन्। प्रहरी स्रोतका अनुसार उनी हाल फिलिपिन्समा रहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको छ।

पीडित परिवारले मुख्य दोषी चिकित्सकलाई अझै पक्राउ नगरिएको भन्दै असन्तुष्टि जनाएको छ। उनीहरूका अनुसार राधिका गोतामेलाई बीएन्डबी अस्पतालबाटै पक्राउ गरिएको थियो। त्यसबेला डा. शर्मा पनि अस्पतालमै रहेको दाबी गरिएको छ। घटना सार्वजनिक भएपछि उनी फिलिपिन्स गएको बताइएको छ।

यसअघि पनि डा. नुतन शर्मालाई लिंग पहिचान गरी गर्भपतन गराएको आरोपमा नेपाल मेडिकल काउन्सिलले तीन महिनाका लागि चिकित्सकीय इजाजतपत्र निलम्बन गरेको थियो। उनले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।