बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

Image

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १७९ दिनका निम्ति ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण सोमबार (साउन ११) उक्त रकमबराबरको निक्षेप संकलन गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्थामा खर्बौं रुपैयाँ अधिक लगानीयोग्य पुँजी (तरलता) रहेकाले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गरी व्यवस्थापन गरिरहेको छ । जारी उक्त उपकरणको बोलकबोल र निष्कासन आजै हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यस दिन दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी आउँदो माघ ८ गते गरिनेछ ।

यसको ब्याजदर बोलकबोलका माध्यमबाटै निर्धारण गरिनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।