तनावग्रस्त सुनसरी : के थियो घटनाको कारण?

Image

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्ज मा कर्फ्यु आदेश जारी रहेकै अवस्थामा प्रदर्शनकारीले आदेश उल्लंघन गर्दै सडकमा उत्रिएपछि अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनका क्रममा टायर बाल्ने, आगजनी गर्ने र पसलहरूमा तोडफोड हुन थालेपछि सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको भन्दै नेपाली सेना परिचालन गरिएको छ।

के हो घटनाको कारण?

देवानगञ्ज–३ को कप्तानगन्ज क्षेत्रमा हिन्दू र मुस्लिम समुदाय लामो समयदेखि आपसी सद्भावका साथ बसोबास गर्दै आएका छन्। विवादको केन्द्र बनेको चौकमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदै आएका छन्।

केही समयअघि मोहरम पर्वका अवसरमा मुस्लिम समुदायले चौकमा धार्मिक झण्डा राखेको थियो। कार्यक्रम सकिएपछि पनि झण्डा नहटाइएपछि स्थानीयवासीले वडा कार्यालय र गाउँपालिकामा गुनासो गरेका थिए। वडाध्यक्षका अनुसार झण्डा हटाउन सम्बन्धित पक्षलाई पटक–पटक आग्रह गरिए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन।

उक्त चौक नजिकै शिव मन्दिर रहेको छ। सोमबार राति साउन महिनामा जल चढाउन सप्तकोशी जाने तयारीमा रहेका श्रद्धालुहरू डिजे बाजासहित शिव मन्दिर पुगेका बेला अर्को समुदायका केही व्यक्तिले बाजा बन्द गर्न आग्रह गरेका थिए। डिजे बन्द गर्ने विषयमा सुरु भएको भनाभन केहीबेरमै दुई पक्षबीच झडपमा परिणत भएको थियो।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले भीड नियन्त्रणका लागि हस्तक्षेप गरेको थियो। सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। घाइते भएका अन्य ९ जनाको कम्मरमाथिको भागमा गोली लागेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

यस घटनापछि सुनसरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

सरकारद्वारा छानबिन समिति गठन

घटनापछि सरकारले सुनसरी घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेपछि समिति गठन गर्ने निर्णय गरिएको हो।

यसैबीच, सुनसरीको सुरक्षा अवस्थाबारे समीक्षा गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको सरकारले जनाएको छ। सरकारले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।