वडाको एम्बुलेन्समा वडाध्यक्षको रजाइँ, आफूखुसी भाडा उठाएपछि भ्रष्टाचार मुद्दा

Image


धुनषाको विदेह नगरपालिका-५ का पूर्व वडाध्यक्ष विजयकुमार यादवविरुद्ध आज (मंगलबार) भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतले दिएको एम्बुलेन्सलाई आफ्नो निजी सवारीसाधन सरह प्रयोग गरेको भन्दै यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्यितयारले उनीविरुद्ध १५ लाख ९ हजार २५० रूपैयाँ बिगो दाबी गरेको छ।

वडाध्यक्ष यादवले भारत सरकारले दिएको एम्बुलेन्स वडा कार्यालयमा दाखिला नगरेको र एम्बुलेन्स सञ्चालनबापत सरकारी कोषमा रकम पनि दाखिला नगरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा वडाध्यक्ष यादवले आफ्नो निजी सवारीसाधन सरह आफ्नै नियन्त्रणमा राखेर आफूखुसी भाडा उठाएको पुष्टि भएको जनाएको छ।

यादवले अनुसन्धान सुरु भएपछि कानुनी कारबाहीबाट उन्मुक्ति पाउन एम्बुलेन्स सेवाबापत आम्दानी गरेको रकम र सोको ब्याज भन्दै ३ लाख ८१ हजार ५९७ रूपैयाँ भने बुझाएका थिए।

कुल बिगोबाट सो रकम घटाउँदा ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल उपर गर्नुपर्ने अख्तियारले माग गरेको छ।