सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक

Image

सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ । छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ । त्यसबाहेक उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि बैठकमा बोलाइएको रास्वपाले जनाएको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई पत्राचार गरिसकिएको छ । साथै लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

‘अत्यन्तै संवेदनशील र दु:खद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भने ।