आज ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

Image

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका ३२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने चेतावनी जारी गरेको छ।

महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार निरन्तर वर्षा तथा वर्षाको सम्भावनाका कारण ती जिल्ला र आसपासका क्षेत्रबाट बग्ने ससाना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ।

महाशाखाले नदी किनार, तटीय क्षेत्र तथा पहाडी भेगका खोलानाला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन, अनावश्यक रूपमा नदी तथा खोलामा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना तथा चेतावनीको पालना गर्न आग्रह गरेको छ।

वर्षायाम सक्रिय रहेकाले मौसम र बाढीसम्बन्धी पछिल्ला अद्यावधिक जानकारी नियमित रूपमा हेर्दै सुरक्षित रहन महाशाखाले सबैमा अनुरोध गरेको छ।