सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा बिहीबार निधन भएको हो।
मृतक देवानगञ्ज गाउँपालिका–३ निवासी २१ वर्षीय जयप्रकाश मेहता रहेका छन्। गोली लागेपछि गम्भीर अवस्थामा उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उपचारकै क्रममा बिहीबार दिउँसो साढे एक बजे चिकित्सकले उनलाई मृत घोषणाका हुन् ।
यसअघि सोही घटनामा २४ वर्षिय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा छ । जयप्रकाश मेहताको निधनसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो।
देवानगञ्ज–३ को कप्तानगञ्ज क्षेत्रमा भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।















