लगातार चौथो दिन पनि ओरालो लाग्यो सेयर बजार, नेप्से १६.२९ अंकले घट्यो

Image

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको लगातार चौथो कारोबार दिन पनि घटेको छ। बिहीबार नेप्से १६.२९ अंकले घटेर २ हजार ६७२.५९ विन्दुमा कायम भएको हो।

साताको सुरुदेखि नै ओरालो लागेको बजारमा चार कारोबार दिनमै नेप्से कुल ६२ अंकले घटेको छ। गत शुक्रबार २ हजार ७३४ विन्दुमा रहेको परिसूचक निरन्तर दबाबमा रहँदै बिहीबार २ हजार ६७२ विन्दुमा झरेको हो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भयो।

आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत परिसूचक राताम्मे देखिएका छन्। विकास बैंक र जलविद्युत् समूहमा सबैभन्दा धेरै गिरावट आएको छ। विकास बैंक समूह १.१२ प्रतिशत र जलविद्युत् समूह १.२० प्रतिशतले घटेका छन्। त्यसैगरी बैंकिङ ०.३३, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य ०.६९ तथा व्यापार समूह ०.४२ प्रतिशतले ओरालो लागेका छन्।

बजार घटे पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नयाँ सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १३८ रुपैयाँ पुगेको छ। सेन्ट्रल फाइनान्स २.८८ प्रतिशत, शुभम् पावर २.१५ प्रतिशत र तारागाउँ रिजेन्सी २.०१ प्रतिशतले बढेका छन्।

यता, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। कर्पोरेट डेभलपमेन्ट बैंक १२.६८ प्रतिशत, सोलु हाइड्रोपावर ३.८२ प्रतिशत र रिजलाइन इनर्जी ३.४७ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार भएका कम्पनीका रूपमा रहेका छन्।