सिरहामा गोली लागेर एक युवकको मृत्यु

Image


सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।  बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार, मृतक गणेश यादव रहेको बताए। गोली लागेर अर्का एक जना घाइते भएको लामाले जानकारी दिए। 

घाइतेको स्थानीय गोलबजारस्थित क्लिनिकमा उपचार भइरहेको छ। त्यसअघि गोलबजारमा दुई समूहबीच झडप भएको थियो। 

प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। ‘प्रदर्शनकारीले शव उठाउन दिएका छैनन्, उनीहरूले मृतकको शव सडकमै राखेका छन्,’ बरालले भने। 

प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ। 

जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू गोलबजारतिर गएका छन्। स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको छ।