देवानगञ्जवासी भन्छन्- दोषीलाई कारबाही होस्, हामी पहिला जस्तै मिलेर बस्न चाहन्छौँ

Image

केही दिनअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको दुःखद घटनाले दुई जनाको ज्यान गयो, धेरै परिवार शोकमा डुबे र त्यसको प्रभाव मधेसका विभिन्न जिल्लासम्म पुग्यो।

झण्डा विवादबाट सुरु भएको असमझदारी अन्ततः हिंसामा परिणत भयो। स्थानीयका अनुसार सुरुआती विवाद संवादबाट समाधान गर्न सकिने प्रकृतिको थियो। तर परिस्थिति बिग्रिँदै जाँदा झडप, सुरक्षाकर्मीको हस्तक्षेप र गोली चल्ने अवस्था सिर्जना भयो। त्यस घटनामा ओमप्रकाश मेहता र उपचारका क्रममा जयप्रकाश मेहताको निधन भयो।

घटनापछि मधेसका केही स्थानमा प्रदर्शन भए। सिरहाको गोलबजारमा पनि तनावका बीच एक जनाको मृत्यु भयो। यद्यपि, घटनाको केन्द्र बनेको देवानगञ्जमा भने स्थानीयले बदला होइन, शान्तिपूर्ण सहअस्तित्व रोज्नुपर्नेमा जोड दिएका छन्।

कप्तानगञ्जका स्थानीयसँग कुरा गर्दा उनीहरू कुनै समुदायप्रति आक्रोशभन्दा बढी दुःख व्यक्त गर्छन्। उनीहरू भन्छन्, ‘हामी वर्षौँदेखि एउटै गाउँमा मिलेर बसेका छौँ। एकअर्काको घरमा आउजाउ गरेका छौँ। सुखमा पनि सँगै थियौँ, दुःखमा पनि सँगै थियौँ। केही घण्टाको घटनाले दशकौँको सम्बन्ध मेट्न सक्दैन।’ त्यही विश्वासले अहिले पनि गाउँमा आशाको दीप बलिरहेको छ।

स्थानीयका अनुसार सुरुआती विवाद सामान्य थियो। संवाद र समन्वयबाट समाधान हुन सक्ने विषय अन्ततः हिंसामा बदलियो। त्यसपछि गोली चल्यो, दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताले ज्यान गुमाए ।यो पीडा एउटा परिवार वा एउटा समुदायको मात्र रहेन। गाउँका हिन्दु र मुस्लिम दुवै समुदायका नागरिक आज समान रूपमा शोकमा छन् ।

देवानगञ्ज–३ का स्थानीय अमरेश मेहता भन्छन्, सुरुको विवादलाई संवादबाट समाधान गर्न सकिने अवस्था थियो। उनका अनुसार अहिले सबैभन्दा आवश्यक कुरा निष्पक्ष छानबिन र न्याय हो ।

रामेश्वर मेहताको पनि आग्रह उस्तै छ। उनी भन्छन्, “सत्य बाहिर आउनुपर्छ। दोषीले कानुनी कारबाही भोग्नुपर्छ। तर समाज फेरि विभाजित हुनुहुँदैन।”

देवानगञ्ज नगरपालिका–३का जाविर आलमको स्वरमा पनि कुनै प्रतिशोध छैन, बरु सम्बन्ध जोगाउने चिन्ता छ। उनी भन्छन्, “जे भयो, अत्यन्त दुःखद भयो। अब हामी फेरि पहिलेजस्तै मिलेर बस्न चाहन्छौँ। हामी झगडा होइन, शान्ति चाहन्छौँ।”

अर्का स्थानीय मोहम्मद मजलुमका अनुसार घटनाको दिन आफूले युवाहरूलाई नजान आग्रह गरेका थिए। उनी भन्छन्, ‘केही व्यक्तिको गलत निर्णयका कारण सम्पूर्ण समुदायलाई दोष दिन मिल्दैन। दुवै समुदायबीचको सम्बन्ध वर्षौँ पुरानो हो, त्यसलाई जोगाउनु अहिले सबैभन्दा ठूलो जिम्मेवारी हो।’

स्थानीयका अनुसार देवानगञ्जमा वर्षौँदेखि हिन्दु र मुस्लिम समुदायले एकअर्काको पर्वमा सम्मानपूर्वक सहभागिता जनाउने परम्परा छ। कसैको घरमा विवाह पर्दा दुवै समुदायका मानिस पुग्ने गरेका छन् । दुःख पर्दा सबैभन्दा पहिले छिमेकी नै पुग्ने गरेका छन्। यही सामाजिक सम्बन्ध नै देवानगञ्जको वास्तविक पहिचान भएको स्थानीयहरू बताउँछन् ।

अब राज्यको भूमिका

पूर्व संविधानसभा सदस्य मुगालाल मेहताले सुरुआती विवाद संवादबाट समाधान गर्न सकिने बताउँदै अब राज्यले निष्पक्ष छानबिन र विश्वास पुनःस्थापनामा ध्यान दिनुपर्ने धारणा राख्छन्।

स्थानीयको पनि माग उही छ ।दोषीमाथि कानुनी कारबाही होस्, पीडित परिवारले न्याय पाऊन् र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रशासनले समयमै संवेदनशील रूपमा काम गरोस्।